निश्चित क्षमता र योग्यता भएका व्यक्तिहरु मध्येबाट राज्यको
सर्वस्वीकार्य संस्थाले छनौट गरेर पठाएका व्यक्तिहरुबाट निजामती प्रशासन सञ्चालन
हुने हुनाले यो राजनीतिक रुपमा तटस्थ र व्यवहारमा निष्पक्ष रहन्छ भन्ने मान्यता
रहँदै आएको छ। यसको अवधि नतोकिने भएको हुनाले यसलाई स्थायी सरकार भनि परिभाषित
गरिएको पाइन्छ। देशमा राजनीतिक उतारचढाव भएको अवस्थामा पनि शिप र क्षमताको आधारमा
स्थापित निजामती प्रशासनले राज्य सञ्चालन गर्दै आएको इतिहाँस हामीसामु छर्लङ्गै छ।
नेपालको अहिलेको राजनैतिक संक्रमणकालको समयमा त झन निजामती प्रशासनले निष्पक्ष
रुपमा सेवा प्रवाह गरी आम जनतासामू सरकारको उपस्थिती बोध गराउनु जरुरी छ। जसले
गर्दा जनतामा निजामती प्रशासन प्रतिको विश्वास र आस्थामा बढोत्तरी होस। तर अहिलेको
अवस्था ठिक उल्टो देखिएको छ। नेपालको निजामती प्रशासनले जनविश्वास बढाउनुको सट्टा
भएको साख पनि गुमाउँदै गएको अवस्था छ। जनतामा गिर्दै गएको आफ्नो साख बचाएर
निष्पक्ष, तटस्थ, उत्तरदायी र पारदर्शी रुपले सेवा प्रवाह गरी सेवाग्राहीलाई सन्तुष्ट
पार्नु आजको मूख्य चुनौती हो ।
यसैक्रममा निजी व्यवस्थापनका राम्रा पक्षहरुलाई आत्मसात गर्दै सार्वजनिक
सेवा प्रवाहमा प्रभावकारीता ल्याउन निजामती सेवा ऐनकेा दोश्रो संशोधन, २०६४ ले निजामती कर्मचारीको पेशागत हकहीत संरक्षण र सेवाको सुरक्षा जस्ता
विषयमा व्यवस्थापनसँग अन्तरक्रिया र छलफल गर्ने उद्देश्यले ट्रेड युनियन गठन गर्न
सक्ने व्यवस्था गरेको छ। कर्मचारीको सेवाको सुरक्षा, समय सापेक्ष सुविधा, बृत्ति विका, कर्मचारकिो जीउज्यानको सुरक्षा, व्यवसायिक सुरक्षा
जस्ता नितान्त कर्मचारीका हकहीतसँग सम्बन्धित विषयमा मात्र सामाजिक सम्वाद र
सामूहिक सौदावाजी गर्न सक्ने व्यवस्था निजामती सेवा ऐन नियममा गरिएको छ। निजामती
सेवा ऐनले एक आधिकारीक टे्रड युनियनको कल्पना गरेको छ, जसले कर्मचारीको सामूहिक हकहीतमा काम गरोस। तर आजसम्म आधिकारीक टे्रड
युनियनको निर्वाचन हुन सकेको छैन। प्रत्येक राजनैतिक दलका कर्मचारी संगठन (ट्रेड
युनियन) कृयाशील छन। जसले गर्र्दा कुन ट्रेड युनियनलाई आधिकारीक भन्नेमा सरकारलाई
अफ्टेरो परिरहेको अवस्था छ। कर्मचारीको हकहीतको लागि गठित भनिएतापनि कुनैपनि ट्रेड
युनियनले कर्मचारीको हकहीतको लागि अनुभूति गर्ने खालका कुनै काम गरेको पाइएको छैन।
कर्मचारी सरुवा तथा नजिकका नातेदार र संगठनमा आवद्ध व्यक्तिहरुको फाइदाको लाग
ट्रेड युनियनको हवाला दिँदै नेतृत्वलाई अनावश्यक दवाव दिने, व्यवस्थापनसँग अनावश्यक माग राख्ने, नेतृत्व तहलाई
तल्लोस्तरको लागि गलौज गर्ने जस्ता तुक्ष र असोभनिय व्यवहार प्रस्तुत भैरहेका छन।
राजनैतिक रुपमा तटस्थ मानिने यो सेवा प्रवेशसँगै कुनै पार्टीको झण्डा बोक्न दवाव
दिने गरेको तीतो यथार्थ हामी सामू छर्लङ्गै छ। एउटा सहायक स्तरको कर्मचारीले ट्रेड
युनियनको हवाला दिँदै नेतृत्वलाई तुक्ष्य शव्दले गालि गलौज् गर्ने, मानसिक यातना दिने, अनावश्यक दवाव दिने जस्ता कार्यहरु
निजामती सेवाको मर्यादा उल्लंघनको पराकाष्ट नै हो। यसर्थ निजामती प्रशासनमा संगठित
भएर सामूहिक भलाईको लागि आवाज उठाउनु जायज र अपरिहार्य हुँदाहुँदै पनि नेपालको
निजामती प्रशासन यस्तो कार्य गर्नबाट चुकिरहेको अवस्था छ। ट्रेड युनियनको उद्देश्य
र क्रियाकलापबीच तालमेलको अवस्था नदेखिनु विडम्बना हो। फोहोरी खेल भनिने नेपाली
राजनीतिले निजामती प्रशासनमा पनि जरो गाड्न थालेको आभास हुन थालेको छ। कालान्तरमा
यसले देशलाई ठुलो नोक्सान हुनेछ भने हाम्रा भावी सन्तत्तिले हामीलाई धिक्कार्ने छन । त्यसैले सवै निजामती कर्मचारीहरुको प्रतिनिधित्व गर्न सक्ने आधिकारीक
ट्रेड युनियनको निर्वाचन छिटो भन्दा छिटो गर्न अत्यावश्यक भैसकेको छ। ट्रेड युनियनमा
रहने पदाधिकारीहरु पनि जिनामती प्रशासन भित्रकै कर्मचारीहरु हुने भएकाले यसको
गरिमालाई अझ बढाउने गरी यसमा Ownership लिई उसलाई सक्षम, सुदृढ, उत्तरदायी, पारदर्शी बनाउदैँ लैजानु आजको आवश्यकता हो।
No comments:
Post a Comment